समृद्ध सुदूरपश्चिमको आधार बन्न सक्छ पेकान नट खेती विश्वभर स्वास्थ्यप्रति सचेत मानिसहरूको संख्या बढ्दै जाँदा पोषणयुक्त सुक्खा फलहरूको माग तीव्र रूपमा बढिरहेको छ। यस्तै बहुमूल्य र दीर्घकालीन आम्दानी दिने बालीमध्ये “पेकान नट (Pecan Nut)” पनि एक हो। ओखर जस्तै देखिने तर स्वादमा अझ मिठो र नरम हुने पेकान नट अहिले नेपालमा पनि व्यवसायिक सम्भावना बोकेको खेतीको रूपमा विस्तार हुन थालेको छ। सुदूरपश्चिम प्रदेशको हावापानी र भू–बनोट यसका लागि उपयुक्त मानिने भएकाले यसले यहाँका किसानको आर्थिक अवस्था परिवर्तन गर्न सक्ने सम्भावना देखिएको छ। पेकान नट “Carya illinoinensis” नामक बिरुवामा फल्ने एक प्रकारको सुक्खा फल हो। यसको रुख ओखर परिवारअन्तर्गत पर्दछ र एक पटक राम्रोसँग हुर्किएपछि करिब १०० वर्षसम्म जीवित रहन सक्छ। यसको फल स्वादिलो, पोषणयुक्त तथा अन्तर्राष्ट्रिय बजारमा उच्च माग भएको कारण यसलाई “भविष्यको नगदे बाली” का रूपमा समेत हेरिन थालेको छ। सुदूरपश्चिममा खेतीको सम्भावना :- नेपालमा समुद्री सतहबाट करिब ८०० मिटरदेखि २२०० मिटर उचाइसम्म यसको खेती सफल रूपमा गर्न सकिन्छ। डडेल्धुरा, बैतडी, डोटी, अछाम, बझाङ, बाजुरा लगायतका पहाडी जिल्लाहरूका साथै चिस्यानयुक्त भू–भागमा यसको राम्रो सम्भावना रहेको कृषिविज्ञहरू बताउँछन्। पेकान नटलाई गहिरो, मलिलो र पानी नजम्ने दोमट माटो उपयुक्त हुन्छ। बिरुवाबीच ८ देखि १० मिटर दूरी कायम गरेर रोप्दा राम्रो उत्पादन लिन सकिन्छ। सुरुवाती केही वर्ष राम्रो स्याहार–सुसार आवश्यक भए पनि पछि यसको हेरचाह कम गर्नुपर्छ। उत्पादन र आम्दानी :- पेकान नटको बिरुवाले करिब ५ देखि ७ वर्षपछि फल दिन सुरु गर्छ। एक बयस्क रुखबाट वार्षिक २० देखि ५० किलोसम्म उत्पादन लिन सकिन्छ। नेपाली बजारमा यसको मूल्य प्रतिकिलो २००० देखि २५०० रुपैयाँसम्म रहेको पाइन्छ भने अन्तर्राष्ट्रिय बजारमा यसको माग अझ उच्च छ। यसको अर्को विशेषता भनेको लामो समयसम्म भण्डारण गर्न सकिने क्षमता हो। अन्य फलफूल जस्तो छिट्टै बिग्रिने समस्या नहुँदा किसानले बजार मूल्य अनुकूल हुँदा बिक्री गरेर राम्रो आम्दानी लिन सक्छन्। एक पटक लगानी गरेर पुस्तौंदेखि आम्दानी लिन सकिने भएकाले यो खेती दीर्घकालीन आर्थिक सुरक्षा दिने माध्यम बन्न सक्छ। स्वास्थ्यका लागि बहुउपयोगी :- पेकान नटमा प्रोटिन, हेल्दी फ्याट, भिटामिन–E, फाइबर तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। यसले मुटुको स्वास्थ्य सुधार गर्न, कोलेस्ट्रोल नियन्त्रण गर्न, दिमागको क्षमता बढाउन तथा शरीरलाई ऊर्जा प्रदान गर्न मद्दत गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन्। यही कारणले विश्वभर यसको माग निरन्तर बढिरहेको छ। किसानका लागि नयाँ अवसर परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन नसकेका किसानका लागि पेकान नट आकर्षक विकल्प बन्न सक्छ। थोरै क्षेत्रमा पनि उच्च मूल्यको उत्पादन लिन सकिने भएकाले युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्न यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ। विदेश पलायन भइरहेका युवालाई आफ्नै गाउँठाउँमा उद्यमशील बनाउने सम्भावना समेत यसले बोकेको छ। यदि स्थानीय तह, कृषि कार्यालय र सम्बन्धित निकायहरूले यसको बिरुवा, तालिम र बजार व्यवस्थापनमा सहयोग गर्ने हो भने सुदूरपश्चिम प्रदेशमा पेकान नट खेतीले ठूलो आर्थिक क्रान्ति ल्याउन सक्छ। कृषि मार्फत आत्मनिर्भरता र समृद्धि खोजिरहेको सुदूरपश्चिमका लागि पेकान नट खेती भविष्यको सुनौलो अवसर बन्न सक्ने देखिन्छ। (समृद्ध सुदूरपश्चिम अभियानक लागि अभियन्ता रविन भट्टले तयार पारेको समाग्रि )