अनन्ते नाचका मागल — परे रावल
बाजुराको बडिमालिका नगरपालिका–८, मातर्डी गाउँका परे रावल नेपाली सांस्कृतिक नृत्य परम्पराका जीवित धरोहर हुन् । साउन ४ गते २०२८ सालमा जन्मिएका उहाँ १६ वर्षको उमेरदेखि नै “अनन्ते नाच” का मागल (गुरु) बनेर गाउँ–समाजमा सांस्कृतिक चेतना फैलाइरहनु भएको छ । यो अनन्ते नाच हरेक वर्ष असोजदेखि भाद्र महिनासम्म पर्ने पूर्णिमामा हुने मस्टो पूजासँग जोडिएको लोकनृत्य हो । पहिलो दिन सुराको पूजा, दोस्रो दिन रमाइलोको अनन्ते र तेस्रो दिन अनन्ते डाँडामा सामूहिक नृत्य गरिन्छ । गोलो घेरामा हास्य, वीर र श्रृङ्गार रस मिसिएको यो नाचले सबैलाई एकै लयमा नचाउँछ, गाउँभर उत्सवको रौनक छाउँछ। परम्परागत गुरु दशे थापा र रघु थापाबाट नृत्य–शिक्षा र दीक्षान्त पाएका परे रावल अहिले पनि आफ्नो ५३ वर्षको उमेरमा युवा पुस्तालाई सिकाइरहनु भएको छ । उहाँका पिता ७८ वर्षीय दउसील रावलको संस्कृतिप्रतिको लगावले नै उहाँलाई यो बाटोमा अघि बढाएको हो । ३६ वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत परे रावलले लोकनृत्यलाई जीवनको धर्म ठान्नुभएको छ ।
वुवा–बाजेको परम्परादेखि अछामको नुवाढानाबाट आएको यो नाच आज पनि बडिमालिकाका १२ जातिहरूबीच माया, सद्भाव र एकताको प्रतीकका रूपमा खेलिन्छ । अनन्ते सुरु हुँदा गाउँ टाढा–टाढाका मानिसहरूले पनि नाच्ने इच्छा गर्छन् । सबै उमेरका मानिसहरूको हर्ष, हाँसो र एकताको स्वर गुञ्जिन्छ । "अनन्ते नाच मात्र होइन, हाम्रो संस्कृति, हाम्रो पहिचान हो!"
समृद्ध सुदूरपश्चिम अभियानका अभियन्ता नेपला चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेस अध्य्यक्ष विनोद मल्ल "भिप्लव" संग गरेको कुराकानीमा तयार पारेकाछाै । अनन्तेको अझ गहिरो रुपमा अध्य्ययन जारि रहेको छ ।