सरौ नृत्यका उत्प्रेरक : संस्कृति, श्रृङ्गार र सभ्यताको जीवित धरोहर ।
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित दुहुँ गाउँपालिका केवल प्राकृतिक सौन्दर्यले मात्र होइन, मौलिक कला, संस्कृति र परम्पराले पनि समृद्ध भूभाग हो। यही भूमिमा पुस्तौंदेखि जीवन्त रहँदै आएको “सरौ नृत्य” यहाँको सांस्कृतिक पहिचान, सामाजिक एकता र ऐतिहासिक गौरवको प्रतीक बनेको छ। वीरता, श्रृङ्गार, मनोरञ्जन र सामूहिक आत्मीयताको अनुपम संगमका रूपमा रहेको सरौ नृत्य आज पनि गाउँघरका जात्रा, पूजाआजा, विवाह तथा शुभकार्यहरूमा विशेष आकर्षणको केन्द्र बन्ने गरेको छ।
दुहुँ गाउँपालिका–५, पासुका स्थानीय ७२ वर्षीय रामबहादुर कुँवर सरौ (छालो खेल) नृत्यका अनुभवी जानकार तथा प्रेरणाका स्रोत हुन्। बाल्यकालदेखि नै बाजे जयराम कुँवर र पिता गगनबहादुर कुँवरसँग सरौ संस्कृतिमा हुर्किएका उहाँले जीवनभर यो नृत्यलाई आत्मासँग जोडेर जोगाउँदै आउनुभएको छ। जुम्ल्याहा दाजुभाइमध्ये जेठा रामबहादुरका अनुसार, जहाँ सरौ नाचको बाजा घन्किन्छ, त्यहाँ स्वतः मानिसहरूको मन उत्साहले भरिन्छ। बालबालिकादेखि वृद्धवृद्धासम्म बाजाको तालमा रमाउने गर्छन् भने नृत्यकारहरूको प्रस्तुति देखेर जोकोही मन्त्रमुग्ध बन्न पुग्छ। विशेषगरी पोक्स गाउँमा लाग्ने ब्रह्मदेवताको जात्रामा हजारौँ मानिसहरूको सहभागितासहित सरौ नृत्य प्रस्तुत गरिन्छ। त्यो दृश्य केवल मानिसहरूको भीड मात्र होइन, मानौँ डाँडापाखा, खोला, वनजङ्गल र हिमालहरूले समेत सरौको तालमा रमाइरहेका हुन्छन्। बाजाको धुनसँगै प्रकृति स्वयं पनि उल्लासित भएको अनुभूति हुने स्थानीयहरू बताउँछन्।
सरौ नृत्यमा प्रयोग हुने पोशाकले यसको सौन्दर्यलाई अझ आकर्षक बनाएको छ। पुरुषहरूले दौरा–सुरुवाल, कुर्ता–पाइजामा, कोट, स्टकोट, गलबन्दी, टोपी र जुत्ता लगाउने गर्छन् भने महिलाहरू आङगाडो, धागारा, फुली, बुलाकी, चुरा, झुम्का, डोरीलगायतका पारम्परिक गहनाले सिँगारिएर श्रृङ्गारिक भावमा नृत्य प्रस्तुत गर्छन्। यसले सरौलाई केवल नृत्य नभई सुदूरपश्चिमेली जीवनशैलीको सांस्कृतिक प्रदर्शनसमेत बनाएको छ।
दुहुँ गाउँपालिकाका पोक्से, कारा, पारीगाउँ, गोरीगाउँ, दौला, भुणकोट, टिङ्किरी, हिकिला, बासपानीलगायत दार्चुलाका विभिन्न गाउँहरूमा सरौ नाच विशेष महत्वका साथ खेलिने गरिन्छ। यसले विभिन्न जातजाति र समुदायलाई एउटै थलोमा जोड्दै मित्रता, भाइचारा र सामाजिक एकताको सन्देश फैलाउने काम गरेको छ।
यस नृत्यको इतिहास, महत्व र मौलिकताको अध्ययनमा विशेष रुचि राख्ने व्यक्तित्व हुन् दुहुँ गाउँपालिका–२, हिकिला चानाखोलिका शिक्षाप्रेमी जंगबहादुर बम। करिब ६० वर्षको उमेरमा पनि संस्कृति संरक्षणमा सक्रिय उहाँ सरौ नृत्यलाई मनोरञ्जन मात्र नभई इतिहाससँग गाँसिएको सभ्यताको अभिन्न हिस्सा मान्नुहुन्छ। उहाँका अनुसार सरौ नृत्यको सम्बन्ध कुमाउँ, डोटी र सिन्जा राज्यको ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको छ। हजारौँ मानिस लामबद्ध भएर सहभागी हुने यो नृत्यको इतिहास पनि उत्तिकै लामो र गौरवपूर्ण रहेको उहाँको भनाइ छ। जंगबहादुर बमका अनुसार सरौ नृत्य मुख्यतः तीन प्रकारले प्रस्तुत गरिन्छ।
पहिलो सामूहिक सरौ :- जसमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन्छन्।
दोस्रो:- दुई जना नृत्यकारले ढाल–तरवारसहित वीर रस प्रधान शैलीमा प्रस्तुत गर्ने नृत्य, जसमा गीतमार्फत वीरगाथा वर्णन गरिन्छ।
तेस्रो:- सिकारी र मृगको कथामा आधारित “कट्या नाच”, जसले मनोरञ्जनसँगै लोककथालाई पनि जीवित राखेको छ। सानो छँदा गाउँका साथीहरू र आफ्ना बुवासँग कट्या नाचमा आफू मृग बनेर नाचेका स्मृतिहरू अहिले पनि ताजा रहेको जंगबहादुर बम सम्झनुहुन्छ। पिता सुन्दर बम र माता गंगा बमको कोखबाट जन्मिएका उहाँ अध्ययन, कला र साहित्यप्रति विशेष अनुरक्त हुनुहुन्छ। आधुनिक संगीत र नयाँ पुस्ताको प्रभावसँगै सरौ नृत्यमा केही परिवर्तनहरू देखिए पनि यसको मौलिकता हराउन नदिनुपर्नेमा उहाँ चिन्तित हुनुहुन्छ।
परम्परागत पईताला, शरीरको ढल्काइ र मौलिक शैली कमजोर हुँदै जानु संस्कृतिका लागि चुनौती भएको उहाँको बुझाइ छ। “हाम्रो पुर्खाले सुम्पिएको सांस्कृतिक नासोलाई जस्ताको त्यस्तै जोगाउन सके मात्रै हाम्रो पहिचान सुरक्षित रहन्छ,” उहाँ भन्नुहुन्छ। साँच्चै भन्ने हो भने, सरौ नृत्य केवल एउटा लोकनृत्य होइन, सुदूरपश्चिमेली समाजको आत्मा हो। यसले वीरता सिकाउँछ, श्रृङ्गार झल्काउँछ, समुदायलाई जोड्छ र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सभ्यता बोकेको छ।
आधुनिकताको भीडमा यस्ता मौलिक संस्कृतिको संरक्षण गर्नु आजको आवश्यकता मात्र होइन, भावी पुस्ताप्रतिको दायित्व पनि हो।
मिति २०८३/२/१२ गते विनोद मल्ल "भिप्लव " संग दुहु गाउपालिका ५ का स्थानीय राम सिं कुवर र दुहु गाउपालिका २ हिकिला चानाखोलिका स्थानीय जंगबहादुर बम संग गरिएको कुराकानीको आधारमा तयार पारिएको छ ।